काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयले उत्पन्न विवादको शान्तिपूर्ण समाधान गर्न सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय सभामा उठेका प्रश्नको आज जवाफ दिँदै गृहमन्त्री लेखकले अहिले देखिएको विवाद समाधानका लागि सरकारले वार्ताको पहल गरिरहेको र शान्तिपूर्ण रूपमा नै समस्याको समाधान खोजेको बताउनुभयो ।
केबलकार बनाउन वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय भने २०७५ सालमै भएको उहाँको प्रष्टोक्ति थियो ।
“ताप्लेजुङको पाथीभरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ”, उहाँले भन्नुभयो ।
उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
नीतिगत सुधार, शान्ति सुरक्षा, सेवा प्रवाह र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै गृहमन्त्री लेखकले भूकम्प लगायतका विपद्पीडितलाई राहत, पुनःस्थापना र पुनःनिर्माणको काम भइरहेको पनि दाबी गर्नुभयो ।
राष्ट्रिय सभाका सदस्यले भने सरकारले प्रभावकारी काम गर्न नसकेको र सहकारीपीडितको पैसा फिर्ताका लागि चासै नदिएको आरोप लगाए ।
राष्ट्रिय सभाको आजको बैठकले भ्रष्टाचार निवारण र सुरक्षित कारोबार संशोधन विधेयक तथा विधायन सम्बन्धी विधेयक पारित गरेको छ । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको यी विधेयक पारित भएसँगै अब प्रमाणीकरणका लागि जानेछन् । राष्ट्रिय सभाले पारित गरेको नेपाल कानुन व्यवसायी परिषद् सम्बन्धी विधेयक भने अब प्रतिनिधि सभामा जानेछ ।