काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मिथ्या सूचना दिनेलाई कानूनी दायरामा ल्याउने गरी सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय सिंगो नेपाली समाज नै मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट आक्रान्त बनेको बताउनु भयो ।
उहाँले मिथ्या र भ्रामक सूचना संप्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । अरोप लगाउने तर त्यसको पुष्टि नहुने कुराले समाजलाई विभाजित बनाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पछिल्लो चरणमा के देखिन्छ भने सिंगो नेपाली समाज मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट टोटल्ली आक्रान्त छौँ । यो चिजलाई कतै न कतैबाट कानूनी दायरामा नल्याउने हो भने यसले समाज नै विभाजित गर्दछ । कसैका बारेमा केही कुरा आरोप लगाइदियो, भन्दियो, भन्दिने मान्छेका बारेमा कुनै पुष्ट्याँई गर्नै पर्दैन । यस्ता विषयहरु जसरी आइरहेको छ, कानूनी हिसावबाट दायरामा ल्याउनुपर्छ ।’
प्रमुख सचेतक बर्तौलाले आम सञ्चार विधेयक अहिले ड्राफ्टको अन्तिम चरणमा रहेको भन्दै विधेयक चाँडो ल्याउन माग गर्नुभयो ।