काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू भावुक प्रकृतिको भएकाले कहिलेकाहीँ आफूले बोलेका शब्द तलमाथि पर्नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू सरकारमा हुँदा र नहुँदा पनि एउटै कुरा गरेको तर कहिलेकाहीँ भावुक हुँदा शब्द तलमाथि पर्न जाने गरेको बताउनुभयो ।
“मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु भन्ने मेरो विश्वास छ । कहिलेकाहीँ शब्द तलमाथि पर्नसक्छ, किनभने म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ । तर मेरो नियत र निष्ठा सफा छ भन्नेकुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ”, उहाँले भन्नुभयो ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा एक भई जानुपर्ने र एकले अर्कोलाई दोषारोपण गरेर नहुने पनि उहाँले उल्लेख गर्नुभयो । “तर जहाँ भ्रष्टाचार भएको छ, समाजले मानेको छ, सदनमा प्रश्न उठेका छन् । गम्भीर ढंगले जनताले हेर्न चाहेका छन् । इमान्दारिताका साथ अनुसन्धानमा लाग्न जरुरी छ । सहमति त्यसको निम्ति हुनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा पछिल्लो कार्यकालमा भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारितापूर्वक काम गरेको पनि बताउनुभयो ।