काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय पक्षसँग कुनै कुराकानी नभएको बताउनुभएको छ ।
युरोपहुँदे भारतको भ्रमण सकेर हिजो स्वदेश फर्कनुभएकी मन्त्री राणाले आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कुनै कुराकानी नभएको स्पष्ट पार्नुभएको हो ।
मन्त्री राणाले यसपटकको भारत भ्रमण पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुने मात्र रहेकाले अन्य भेटघाटको कार्यक्रम नभएको बताउनुभयो । भारतमा रहँदा दुई वटा कार्यक्रममा सहभागी भएको समेत उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किएको केही सातापछि गृहनगर झापा पुगेका बेला आफ्नो भारत भ्रमण छिटै हुने बताउनुभएको थियो ।
मन्त्री राणा यसअघि भारत जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विदेशमन्त्री एस जयशंकर लगायत उच्चतहका नेताहरुसँग भेटघाट गर्नुभएको थियो । यसपटक भने कुनै नेताहरुसँग भेट नभएको उहाँले बताउनुभएको हो ।