दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको छ ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेको ९ दिनपछि आठजना विनाविभागीय मन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले जिम्मेवारी तोक्नुभएको हो । नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएका धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, प्रचण्डविक्रम न्यौपानेलाई उद्योग मन्त्रालय र बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी एमालेबाट मन्त्री बन्नुभएका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, खेमबहादुर सारुलाई स्वास्थ्य मन्त्रालय र सीता शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
लुम्बिनी प्रदेशमा कांग्रेसबाट ४ र एमालेबाट ४ गरी साउन ९ गते विनाविभागीय मन्त्रीका रुपमा शपथ लिनुभएका मन्त्रीहरुको कार्यविभाजन नहुँदा कामविहीन बन्नुभएको थियो ।