दाङ । नेकपा एमालेका महासचिव संकर पोखरेलले नेताहरूका टाउका जोडेर कम्युनिस्ट एकता नहुने बताउनु भएको छ । उहाँले प्रेस चौतारी दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो ।
महासचिव पोखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेको पनि बताउनु भयो । यस सन्दर्भमा उहाँले पुरानै बाटोबाट अघि बढ्न नसकिने तर्क पनि गर्नु भयो । नेताका टाउका जोडेर गरिने एकता दिगो नहुने भन्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने ठोकुवा समेत गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनतामा बढ्दै गरेको निराशा चिर्न र राजनीतिक स्थायित्वका लागि काङ्ग्रेस-एमालेका बीच सहकार्य गरिएको पनि बताउनु भयो । उहाँले विगतमा भएका सबै परिवर्तनहरूमा काङ्ग्रेस-एमाले एक ठाउँमा उभिएको स्मरण गर्दै वर्तमान अवस्थामा उत्पन्न राजनीतिक अस्थिरताको संकट टार्न र जनतामा छाएको निराशा चिर्नका लागि अहिलेको सहकार्य आवश्यक रहेको दाबी गर्नुभयो ।