नयाँ सरकारका मन्त्रीहरुले के-के गरे पहिलो निर्णय ?

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सरकारका मन्त्रीहरुले के-के गरे पहिलो निर्णय ?

काठमाडौं । शीतलनिवासमा सपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरबार पुगेर पद सम्हालेका छन् । उनीहरुले पहिलो निर्णय के-के गरे र नागरिकका पक्षमा कस्ता प्रतिबद्धता जनाए ?

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गर्नु भएको छ । पदबहालीपछि उहाँले विज्ञका सुझावका आधारमा योजना बनाएर काम गर्ने उल्लेख गर्दै एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने पनि बताउनुभयो ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति २०६५ लाई परिवर्तन गर्न सह-सचिवको नेतृत्वमा समिति गठन गर्ने पहिलो निर्णय गर्नुभएको छ । उहाँले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि वैदेशिक लगानी भित्रिने गरी पर्यटन नीति परिवर्तन गरिने जानकारी पनि दिनुभयो ।

नवनियुक्त शिक्षामन्त्री विद्या भटट्राईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो । शिक्षा, कृषि तथा स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधि सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारुप तयार पार्नेछ ।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक नियुक्तिका लागि आवेदन दिँदा विदेशको स्थायी अनुमतिपत्र नलिएको स्वघोषणा गर्ने व्यवस्था लागु गर्न सहमतिका लागि पठाउने निर्णय गर्नु भएको छ । उहाँले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर मैदानमा डिजिटल स्कोरबोर्ड तथा फ्लडलाइटसहित पूर्वाधारका कामलाई तीव्रता दिने बताउनुभयो ।

यस्तै, उद्योगमन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गर्नुभएको छ । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रको सुधारका लागि राष्ट्रिय यातायात नीति तर्जुमा गर्ने उल्लेख गर्नुभएको छ ।

रक्षामन्त्री मानवीर राईले नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौं-तराई मधेश द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय प्राथमिकतामा रहने बताउनुभयो । ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिचाइँका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र त्यसको कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको प्रस्तावमा हस्ताक्षर गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement