नेकपाको अन्तरसंघर्षले संसद् विघटन हुँदा आफूले सघाएको पूर्वराष्ट्रपति भण्डारीको स्वीकारोक्ति

राष्ट्रिय–अन्तर्राष्ट्रिय एजेन्डा बाँकी रहेको भन्दै राजनीतिमा सक्रिय हुने तर्क
असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेकपाको अन्तरसंघर्षले संसद् विघटन हुँदा आफूले सघाएको पूर्वराष्ट्रपति भण्डारीको स्वीकारोक्ति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू मुलुकको सर्वोच्च पदमा पुगे पनि गर्नुपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्डा बाँकी नै रहेको भन्दै पुन: राजनीतिमा फर्कने प्रस्ट धारणा राख्नुभएको छ ।

राष्ट्रपति भइसके पनि आगामी दिनमा पदीय जिम्मेवारीमा रहने कुरालाई बन्द नगरेको भन्दै उहाँले पार्टीको सदस्यताले आफ्नो राजनीतिक भूमिका, चेत र सक्रियतालाई सीमित गर्न नसक्ने बताउनुभयो । कान्तिपुरसँगको कुराकानीमा पूर्वराष्ट्रपति भण्डारीले पदीय जिम्मेवारीमा रहने कुरा राष्ट्रको आवश्यकताअनुसार खुला रहने बताउँदै चुकुल लगाएर कोठामा नबस्ने र वनवास जान्छु भनेर पनि नभन्ने प्रस्ट्याउनुभयो ।

राष्ट्रपति हुँदा गरेको संसद् विघटनको अनुमोदन र तत्कालीन सत्तारूढ दल नेकपा विभाजन रोक्न खेलेको भूमिकामा उहाँले पार्टीभित्रको आन्तरिक लडाइँले संसद् विघटनको स्थिति बनेको बताउनुभयो । जनताको बहुदलीय जनवाद पक्षधरलाई दमन गर्न खोज्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेको र त्यसलाई आफूले सदर गरेको स्वीकार गर्नुभयो ।

नयाँ दलप्रति पनि जनतामा उत्साह नभएको पूर्वराष्ट्रपति भण्डारीको दाबी छ । 

उहाँले संसद् विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर्‍याए पनि संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई ताजा जनादेशमा जाने अधिकार दिनुपर्नेमा आफू अहिले पनि स्पष्ट रहेको बताउनुभयो ।

अहिले माओवादीले खेलिरहेको राजनीतिक भूमिकाप्रति आलोचनात्मक टिप्पणी गर्दै उहाँले यस्तो भूमिकाले मुलुकलाई अस्थिरतामा राखिराख्ने बताउनुभयो ।

कांग्रेस र एमालेका नेताहरूलाई एक्लाएक्लै प्रतिस्पर्धा गर्न र निर्वाचनका परिणामअनुसार भूमिका पूरा गर्न आफूले सुझाव दिने गरेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।

राष्ट्रपति पदमा सात वर्ष आसीन भएर शीतलनिवासबाट फर्किनुभएकी भण्डारी सक्रिय राजनीतिमा फर्कने गरी सक्रियता देखाइसक्नुभएको छ । उहाँको पार्टी सदस्यता नवीकरणका लागि निवेदन आइसकेको नेकपा एमालेमा पदाधिकारीले नै यसअघि कान्तिपुर समाचारलाई जानकारी दिएका थिए । दुईपटक राष्ट्रपति बन्नुअघि उहाँ सांसद, मन्त्री र नेकपा एमालेको उपाध्यक्ष भइसक्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement