प्रचण्डको ठोकुवा– यो सत्ता गठबन्धन केही महिनाभित्रै टुट्छ

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रचण्डको ठोकुवा– यो सत्ता गठबन्धन केही महिनाभित्रै टुट्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन केही महिनाभित्रै टुट्ने दाबी गर्नुभएको छ ।

काठमाडौंमा आज सुरु भएको अनेरास्ववियू क्रान्तिकारीको २३ औँ सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले अस्वाभाविकरुपमा बनेको कांग्रेस-एमाले गठबन्धन सरकारको आयु धेरै नभएको बताउनुभएको हो । उहाँले आफूहरू सरकार भत्काउने खेलमा नलागे पनि यो गठबन्धन आफैँ भत्किने ठोकुवा गर्नुभयो । 

अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थिति सामान्य नरहेको संकेत गर्दै वर्तमान व्यवस्था कमजोर बनाउन ठूलै दबाब र शक्ति हाबी हुन लागेको बताउनुभयो । उहाँले अहिले समाजवादी मोर्चालाई बलियो बनाउने र केही समयमै बामपन्थीहरुबीचको एकताको सुखद खबर राजनीतिक वृत्तमा सुन्न सकिने बताउनुभयो । 

अध्यक्ष दाहालले माओवादीभित्र गुटउपगुटलाई प्रश्रय नदिने सहमति पार्टी हेडक्वार्टरमै भइरहेकाले विद्यार्थी संगठनमा पनि यसको झल्को नदेखाउन निर्देशनसमेत दिनुभयो । विद्यार्थीहरूले सकेसम्म सहमतिबाट र नभए निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने भन्दै उहाँले यसमा पार्टीको हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो ।

अखिल क्रान्तिकारीको अधिवेशनको बन्दशत्र भोलिदेखि सुरु हुने छ । १४ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । आकांक्षी धेरै भएकाले सहमति हुने सम्भावना भने देखिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement