छानबिन समितिले गोर्खा मिडियामा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
छानबिन समितिले गोर्खा मिडियामा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह भएका सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारीको रकम अपचलन गरेको आरोप लाग्दै आएको छ ।

समितिको आज बसेको बैठकले कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाको कागजात झिकाउने निर्णय गरेको हो । अनुसूची २ मा आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था छन् ।

यी सबै सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको देखिएको छ । यी सहकारीको पछिल्लो साधारणसभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनसहित अन्य आवश्यक वित्तीय विवरण माग गर्ने निर्णय छानबिन समितिले गरेको हो । विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको स्थितिसमेत समितिले मगाएको सभापति सूर्यबहादुर थापाले जनाउनुभयो ।

समितिले यसअघि गठन गरिएका सहकारी छानबिन समिति र आयोगका प्रतिवेदनहरु प्राप्त गरेको जनाएको छ । समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बास्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement