सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आलटाल

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको आलटाल

धनगढी । दाबी पेस भएको दुई दिन बितिसक्दा पनि प्रदेश प्रमुखले निर्णय नगर्दा सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अन्योलमा परेको छ । नागरिक उन्मुक्ति पार्टीका दुईजना प्रदेशसभा सदस्यले हिजो छुट्टाछुट्टै दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श लिनुपर्ने भन्दै नियुक्तिमा ढिलाइ गरेका हुन् ।

तर चार पार्टीका संसदीय दलका नेताले स्पष्ट बहुमतसहित हस्ताक्षर गरेर बुझाउँदा पनि प्रदेश प्रमुखले पूर्वाग्रह राखी मुख्यमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ । प्रदेश प्रमुखले आह्वान गरेबमोजिम संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरिएको भन्दै मुख्यमन्त्री नियुक्त नगर्नु कानुनविपरीत भएको नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीको दाबी छ ।

यसैबीच केन्द्रीय गठबन्धनले मुख्यमन्त्री नदिएको आक्रोशमा सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनलाई सहयोग गरेको एकीकृत समाजवादीले निर्णय कुनै हालतमा फिर्ता नहुने अडान लिएको छ ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता दीर्घ सोडारीले गठबन्धनका नेता केपी ओली र पुष्पकमल दाहालले आफूहरुमाथि अपमान गरेको प्रतिक्रिया दिएका छन् । उनले ओली-दाहालले गरेको बदला आफूहरुले सुदूरपश्चिम प्रदेशबाट लिएको जनाएका हुन् । उनले यसबाट आफूहरु र आफ्नो पार्टी पछि नहट्ने दाबीसमेत गरेका छन् ।

‘गठबन्धनका नेता केपी ओली र पुष्पकमल दाहलले गरेको अपमानको बदला सुदूरपश्चिममा लिएका हौं । पछि हट्दैनौं,’ एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले कान्तिपुर टेलिभिजनसँग भने ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीमा दाबी परेको छ ।

यो पनि...

ओली र दाहालले गरेको अपमानको बदला सुदूरपश्चिममा लिन्छौं : दीर्घ सोडारी

एकीकृत समाजवादीले गठबन्धनलाई कमजोर बनाउन खोज्यो : केपी ओली

सुदूरपश्चिम सरकार गठन, सत्ता गठबन्धनबीच खटपट

नाउपाकी सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

मुख्यमन्त्रीमा नाउपाबाट दुई जनाको दाबी, पेचिलो बन्यो सरकार गठन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement