काठमाडौं । जब-जब दलहरूका अधिवेशन तथा केन्द्रीय बैठक आउँछन्, नेतृत्व परिवर्तन र पुस्तान्तरणको आवाज चर्को रूपमा उठ्छ । तर, बैठक सकिने बेलासम्म ती बहस सेलाइसक्छन् । राजनीतिक दलको नेतृत्वमा पुस्तान्तरणको बहस लामो समयदेखि चल्दै आए पनि पूरा नै नेतृत्वको हालीमुहाली छ । न नेताहरू नेतृत्व छाड्न तयार छन्, न त दोस्रो पुस्ताले नेतृत्वको दाबी गर्न नै सकिरहेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी-लोसपाका महासचिव केशव झाले शनिबार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्दै पार्टीको नेतृत्व अरुलाई सुम्पिएर पुस्तान्तरणमा सहयोग गर्न आग्रह गरे । १५ वषदेखि नेतृत्व गरिरहेका ठाकुरलाई व्यङ्ग्य गर्दै उनले पार्टीको गति बढाउन अब गियर परिवर्तन गर्ने बेला भएको सम्झाए । उत्तराधिकारीलाई पार्टी जिम्मा लगाएर विश्राम लिई अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? भन्दै झाले प्रश्न गरेका छन् ।
पुराना र ठूला भनिएका दलहरूमा समेत पुस्तान्तरणको बहस चर्को छ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा परिवर्तन जोगाउन युवालाई अघि बढाउनुपर्छ भन्दै अभियान नै चल्यो । तर, नेतृत्वमा शेरबहादुर देउवा नै दोस्रो कार्यकालका लागि निर्वाचित भए । अझै उनी तेस्रो कार्यकालको दाउमा छन् । महासमिति र केन्द्रीय बैठकमा यो विषयले प्रवेश पाउने गरे पनि आवाज धमिलो हुने गरेको छ ।
नेकपा एमालेमा पनि बेलाबेला पुस्तान्तरणको आवाज उठ्ने गर्छ । तर अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने आँट कसैले गर्न सकेका छैनन् । एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीको अवस्था पनि उस्तै हो ।
माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ३५ वर्षदेखि नेतृत्वमा छन् । फागुन १ देखि ३ गतेसम्म चलेको विधान अधिवेशनमा दाहालले नेतृत्वका लागि दाबी गर्न आउन आग्रह गरे । तर, त्यो उनको औपचारिकता मात्र थियो, उनी पनि अझै नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । दोस्रो पुस्ताका नेताहरूले पनि खुलेर पुस्तान्तरणको आवाज उठाउने हिम्मत गर्न सकेका छैनन् ।
जनता समाजवादी पार्टीको स्थापनाकालदेखि नै उपेन्द्र यादव नेतृत्वमा छन् । न त उनीसँग प्रतिस्पर्धा गर्ने पात्र पार्टीमा उदाएका छन्, न उनी पद छाड्ने मनस्थितिमा ।
नेपालका अधिकांश दलहरूका संरचना यसरी निर्माण भएका छन् कि, चाहेर पनि नयाँ अनुहार नेतृत्वमा पुग्न असम्भव छ । अपवादमा पुस्तान्तरण हुने पार्टीमा भने राप्रपा परेको छ । नत्र अधिकांश दलका युवा नेताहरू नेतृत्व रिझाउने र पालो पर्खनेमै सीमित छन् ।