प्रधानमन्त्री दुबईबाट फर्केपछि मन्त्रिपरिषद् फेरबदलको तयारी

मंसिर १६, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दुबईबाट फर्केपछि मन्त्रिपरिषद् फेरबदलको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् फेरबदलको तयारी गरेका छन् । विश्व जलवायु सम्मेलनमा सहभागी हुन दुबई जानुअघि उनले यसबारेमा आफ्नो पार्टीभित्र अनौपचारिक छलफलसमेत गरिसकेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री नियु्क्त भएको आगामी पुस १० गते १ वर्ष पुग्दैछ । गठबन्धन दलबीच भएको पूर्वसहमतिअनुसार दाहालले मन्त्रिपरिषद्का सदस्यहरु फेरबदलको तयारी गरेका हुन् । अहिले प्रधानमन्त्री दाहाल दुबई भ्रमणमा छन् । उनी फर्किएलगत्तै गठबन्धन दलहरुमा औपचारिक छलफल हुने दाबी नेताहरुले गरेका छन् । त्यसका लागि अहिले गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पदाधिकारी र केन्द्रीय समिति बैठक नै बोलाएर छलफल गर्ने तयारी गरेको माओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

गठबन्धनको मुख्य दल नेपाली कांग्रेससमेत मन्त्री परिवर्तन गर्ने पक्षमा छ । तर त्यसका लागि केही समय लाग्ने दाबी कांग्रेसका नेताहरुको छ । पुस तेस्रो साता महासमिति बैठक र माघ ११ गते राष्ट्रियसभाको चुनावपछि मात्रै मन्त्रिपरिषद् फेरबदल हुनसक्ने महामन्त्री गगन थापाको भनाइ छ ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसमेत अहिलेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने तयारीमा छन् । मन्त्रीहरुको कार्यसम्पादन कमजोर भएको भन्दै आलोचना हुन थालेपछि पनि प्रधानमन्त्रीले मन्त्री फेरबदलको चाहना राखेका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शिक्षामन्त्री अशोक राईलगायतको कार्यशैली र कार्यसम्पादनप्रति प्रधानमन्त्री मात्र नभएर दलका शीर्ष नेताहरु नै सन्तुष्ट छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.