काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
उनीहरू विरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा लामिछानेलाई पोखराबाट बुटवल बयानका लागि पुर्याइएको थियो । ३ दिनमा साढे २३ घण्टा बयान लिएर लामिछानेलाई पुन: पोखरा पुर्याइसकिएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अघिल्लो पटक अदालतले अनुमति दिएको थियो । लामिछाने र जोशी यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालयबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एकैसाथ अनुसन्धान गरिरहेको छ ।