संसद्‌मा प्रधानमन्त्री दाहालले भने- संयुक्त राष्ट्रसंघमा नेपाललाई सफलता मिलेको छ

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा प्रधानमन्त्री दाहालले भने- संयुक्त राष्ट्रसंघमा नेपाललाई सफलता मिलेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सद्‌भाव बटुल्न आफ्नो भ्रमण सफल भएको दाबी गरे । ‘संयुक्त राष्ट्रंसंघको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सदभाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाललगायत अतिकमविकसित मुलुकहरुका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाललाई यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ,’ संसद्‌मा दाहालले भने ।

उनले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको जनाए । नेपाल-चीनबीचको जनस्तरको सम्बन्ध प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत छलफल भएको उनको भनाइ छ । ‘उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी, तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको छ । र, अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्‌भावमा वृद्धि भएको छ ।’

प्रधानमन्त्री दाहालले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि जानकारी दिए ।

‘नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको छ । विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको छ । चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने मैले राखेको धारणाप्रति महामहिम राष्ट्रपति र प्रधानमन्त्रीले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो,’ सदनमा दाहालले भने, ‘उच्चस्तरीय भेटहरुमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रशारण लाइन निर्माण, नेपाल र चीनको सीमामा रहेको भूभागबाट केन्द्रीय विद्युत् प्रशारण प्रणालीबाट विद्युत्‌को पहुँच पुर्‍याउन नसकिने स्थानहरुमा सौर्य प्रणाली जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरुको पुन:सञ्चालन, सीमानाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको थियो ।’

नेपाल-चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाइमा लैजाने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको र नेपाल-चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाईमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा गम्भीर विचार-विमर्श भयो,’ उनले भने, ‘चीनको भ्रमणले झन्डै ४ वर्ष लामो नेतृत्व तहबाट एक-अर्को मुलुकका भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.