
काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा चेतावनी दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा हिजो एक स्ट्याटस पोस्ट गर्दै बमले पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ चेतावनी दिनुभएको हो ।
उहाँले फेसबुकमा लेख्नु भएको छ -‘...चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईँले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।’
बमले गुरुङले कान्तिपुर टिभीको कार्यक्रम फायर साइडमा व्यक्त गरेका विचारप्रति आपत्ति जनाउँदै संसद् पुनः स्थापनाको बहसलाई पश्चगामी बाटोको संज्ञा दिनुभएको छ । मुलुकको राजनीतिक कोर्स त्यस चरणभन्दा धेरै अघि बढिसकेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार अब निकासका लागि नयाँ जनादेश सहित नयाँ संसदमार्फत देशलाई अघि बढाउनुपर्ने आवश्यकता छ ।
‘हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनीतिक वा रणनीतिक गोटी बन्नु हुँदैन।’ उहाँले लेख्नुभएको छ , ‘यतिखेर सबैभन्दा प्रमुख कुरा राजनीतिक प्रक्रिया हो ।'
देशमा शान्तिको आवश्यकता औँल्याउँदै सबैलाई थप सचेत हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।