एमाले कोशी प्रदेश अध्यक्षमा ढकाल र खतिवडाको उम्मेद्‌वारी दर्ता

आश्विन १३, २०८० |सुशीला पाठक
एमाले कोशी प्रदेश अध्यक्षमा ढकाल र खतिवडाको उम्मेद्‌वारी दर्ता

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेद्‌वारी दर्ता गराएका छन् ।

सहमतिको प्रयास असफल भएपछि एमालेको कोशी प्रदेश अधिवेशनमा पनि मतदानबाट नेतृत्व चयन हुने भएको हो । एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा ढकाल र खतिवडाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

पार्टी नेतृत्व तहले सहमतिमै अध्यक्ष चयनका लागि जोडबल गरे पनि ढकालले अध्यक्षमा दाबी नछाडेपछि चुनाव हुने अवस्था बनेको हो। नेताहरुले ढकाललाई फकाउने प्रयास गरे पनि उनले नमानेपछि अध्यक्ष पदका लागि खतिवडासँग प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेद्‌वारी दिएका ढकाल र खतिवडा दुवैले चुनावी अभियान सुरु गरेका छन् ।

कुनै समय अध्यक्ष केपी ओली शर्मा निकट मानिएका ढकाल पछिल्लो समय संस्थापन पक्षसँग टाढिएका छन् । अध्यक्ष ओलीले खतिवडालाई प्रदेश कमिटी अध्यक्ष बनाउन चाहेको स्रोतले बतायो । तर सहमति नजुटेपछि चुनावी प्रक्रियाबाटै नेतृत्व चयन हुने अवस्थामा पुगेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि (आइतबार) बिहान सवा सात बजे उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन हुनेछ । बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।

                एमाले कोशी प्रदेश नेतृत्वको मतदान भोलि, यस्तो छ कार्यतालिका

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश कमिटी दुई सय १५ सदस्यीय हुनेछ । अधिवेशनमा एकसय ३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी नौ सय ९७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीहरुसहित दुईसय १५ सदस्यीय कमिटी चयन हुने छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।