भारत भ्रमण परिणामुखी भयो : प्रधानमन्त्री

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
भारत भ्रमण परिणामुखी भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको भारत भ्रमण विगतको भन्दा फलदायी र परिणाममुखी भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध तथा हितका विषयमा खुलस्त रुपमा कुरा भएको र विश्वासको वातावरण बनेको बताए । उनले इतिहासमै पहिलो पटक भारतीय प्रधानमन्त्रीकै मुखबाट सीमा समस्या समाधानको स्पष्ट प्रतिबद्धता आउनु गर्वको कुरा भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा सन् १९५० को सन्धिलगायत इतिहासदेखि थाती रहेका विषय समाधान गर्ने कुरा भएको र गेमचेन्ज गर्ने तरिकाले अघि बढेको दाबी गरे । दुई देशबीच भएको ऊर्जा सम्झौता ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले भ्रमणबाट नेपालको समृद्धिको ढोका खुलेको र नेपालमा अर्बौं लगानी आउने वातावरण बनेको बताए ।

दाहालले भ्रमणका क्रममा लक्ष्मणपुर बाँधलगायत सबै क्षेत्रको डुबान समस्याबारे गम्भीर छलफल भएको उल्लेख गर्दै सबैको वर्षाअगाडि नै समाधान गर्न दुवै देशका अधिकारीलाई निर्देशन दिएको बताए ।

हाइ अल्टिच्युडको एयर रुटका विषयमा छलफल गरेर निर्णय लिन भारत सकारात्मक भएको पनि प्रधानमन्त्री दाहालले बताए । तर, साना विमानका लागि एयर रुट पाउनु उपलब्धि भएको उनको भनाइ छ । उनले आफू भारत भ्रमणमा जाने दिन जेठ १७ गते नै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोगमात्र भएको उनले स्पष्ट पारे ।

यो पनि...

भारतको नयाँ संसद्‌मा नेपाली भूमिसहितको नक्साबारे आफूले कुरा नउठाएको भन्ने साँचो होइन : प्रधानमन्त्री दाहाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.