६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन : उपेन्द्र यादव

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष ०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार अध्यक्ष यादवले आर्थिक वर्ष ०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरे । उनले बजेट संविधानले परिकल्पना गरेअनुरुपको समाजवादउन्मुख नभएको जनाए । उनले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको भन्दै बजेटले लक्ष्यअनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने दाबी पनि गरे ।

‘बजेट समाजवादउन्मुख छँदै छैन । बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ । यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन । समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट छ । आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ । तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ । यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन,’ उनले भने, ‘भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त । कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन । भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्शनप्लान अगाडी आउन आवश्यक छ । बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ ।’

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको जनाए । अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको दाबी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.