सरकारले ल्याएको कर नीतिको सशक्त विरोध गर्छौं : सुमना श्रेष्ठ

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले ल्याएको कर नीतिको सशक्त विरोध गर्छौं : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने जनाएकी छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै बुधबार उनले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै त्यसको विरोधमा आफूहरुले संसद बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिइन् ।

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यान्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकामा आपत्ति जनाउँदै त्यो स्वीकार्य नहुने जनाइन् । उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भनेर अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न गरिन् ।

‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौं भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठुल्ठूला कुरा गर्ने ? गरिबहरुको कथा सुनाउने दातृ संस्थाहरुलाई । गरिबलाई यसमा लेखिएको करले कसरी सहुलियत दिन्छ भनेर प्रक्षेपण देखाउनुस् । अब त कस्तो भयो भने आफूले टार्गेट गरेको कर उठेन भने अब त अर्को वर्ष तपाईंले सासमा पनि कर लगाउनुहुन्छ,’ उनले भनिन्, ‘हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटकपटक राजनीतिक हिसाबले रोकिएको छ । जनताका लागि अब हामी रोक्छौं । यस्तो गरिबहरुलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन । यसको विरोध गर्छौं ।’

उनले गरिबी देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरुलाई मारमा पार्ने काम हुनै नसक्ने धारणा राखिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.