माधव नेपालले भने- बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
माधव नेपालले भने- बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको भन्दै सरकारसँग जवाफ माग्ने जनाएका छन् ।

अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा त्यसको आधार खोज्ने प्रतिक्रिया दिए । उनले आधारबिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने दाबी गरे । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भन्दै अध्यक्ष नेपालले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने जानकारी दिए ।

‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने हिसाबले गरिएछ । यो सुन्नमा आयो, त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो, सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ,’ नेपालले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो कि होइन, यसबारे सबै कुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरुसँग भेटेर कुरा गर्नेछु ।’

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुसी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न सहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको जानकारी पनि दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.