दासढुंगाको ३० वर्ष : एमाले नेता भन्छन्- घटना रहस्यमय छ

जेष्ठ ३, २०८० |विकास आचार्य
दासढुंगाको ३० वर्ष : एमाले नेता भन्छन्- घटना रहस्यमय छ

काठमाडौं । चितवनको दासढुंगामा जिप दुर्घटनामा नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको आज ३० वर्ष बित्यो । यो घटनालाई एमाले नेताहरुले अहिलेसम्म रहस्यमय हत्याको संज्ञा दिन छाडेका छैनन् । अर्कोतर्फ भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका विषयमा पनि एमालेभित्र बहस हुँदै आएको छ ।

पोखराबाट चितवन जाँदै गर्दा २०५० जेठ ३ गते बिहान एमाले नेता मदन भण्डारी र जीवराज आश्रित चढेको जिप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो । जिपमा रहेका भण्डारी र आश्रितको मृत्यु भए पनि चालक अमर लामा बाँच्न सफल भएका थिए । तर, २०६० सालमा काठमाडौंको कीर्तिपुरमा लामाको रहस्यमय हत्या भयो ।

जीवराज आश्रितकी पत्नी माया ज्ञवालीले यो घटनालाई दुखदका साथै शंका गर्ने ठाउँ प्रशस्त रहेको जनाउँछिन् ।

घटनामा शंका गर्ने ठाउँ प्रशस्त छ : माया ज्ञवाली

त्यो दिन धेरै पीडादायी दिन । जीवनको अत्यन्तै दुखद घडीका रुपमा सम्झन्छु । यो घटना रहस्य त छ नै । सबैमा यो प्रश्न त छ नै । अब रहस्यमय घटना हो भनेर हामीलाई त हुने नै भयो । त्यसको उत्तर अझै पाइएको छैन । यो बडो दु:खको कुरा छ । यसलाई एउटा विवशता भन्नुपर्छ ।

त्यो घटना रहस्य त पक्कै हो । किनभने पोखराबाट चितवन जाँदा त्यो लेफ्ट (बायाँ) पर्छ । घटना त नदीतिर राइट (दायाँ) पर्यो । एक त त्यो साइडका हिसाबले पनि मिलेन । अर्को कुरा दुर्घटनाका बखत अगाडि पछाडि कुनै सवारीसाधन वा मान्छेले हेर्ने/देख्ने पनि भएन । अझ सुरक्षाकर्मी पनि नलिएर हिँडेको हुँदा अझ शंका गर्ने ठाउँ रह्‍यो । 

यदि बाटो क्लियर गर्ने र गाइड गर्ने मान्छे त्यो बेला हुन्थ्यो भने यो घटना पनि हुन्थेन पक्कै । त्यतिखेरको राजनीतिक पनि अलि सङ्लो नै थियो । किनभने ५२ पछि मात्रै माओवादी भूमिगत भएको हो । जनयुद्ध पनि थिएन । शान्त वातावरणमा, बहुदल आइसकेको, पार्टीको महाधिवेशन पनि भइसकेको अवस्थामा  केही तत्त्वहरु लागेरै समाप्त पार्न खोजेको हो कि भन्ने पनि छ ।

ज्ञवालीको थप विचार भिडियोमा...

दासढुंगा रहस्यमय छ : शंकर पोखरेल (महासचिव, नेकपा एमाले)

प्रत्येक वर्ष जेठ ३ गते एमालेले पुरानो पार्टी मुख्यालय बल्खुमा मदन र जीवराजको शालिकमा माल्यार्पण गरेर आफ्ना नेतालाई सम्झने गरेको छ । एमालेहरुले दुर्घटना नभएर मदन भण्डारीको हत्या नै भएको दाबी गर्दै आएका छन् । एमाले महासचिव शंकर पोखरेल पनि घटना रहस्यमय भएको बताउँछन् । 

महासचिव पोखरेल भन्छन्- 

दासढुंगाको रहस्यमय जिप दुर्घटनापछि जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितका योगदानहरुलाई सम्झना गर्ने दिनका रुपमा हामीले जेठ ३ गते विशेष कार्यक्रमहरु गर्ने गरेका छौं । पार्टी केन्द्रका तर्फबाट हामीले पुरानो पार्टी कार्यालय रहेको स्थानमा जहाँ मदन भण्डारीको सालिक रहेको छ त्यहीँ कार्यक्रमको आयोजना गर्ने गर्छौं । स्वभाविक रुपमा मदन भण्डारीले पार्टीमा पुराना र नयाँ पुस्ताका बीचमा एकता कायम गर्ने विषयको नेतृत्व गर्नुभयो । नेकपा मालेलाई एमालेका रुपमा रुपान्तरण गर्ने कुरामा उहाँको महत्त्वपूर्ण योगदान रह्‌यो । त्यसैले आजको एमालेले विकासमा धेरै महत्त्वपूर्ण योगदान गरेको छ । 

अर्कोतर्फ विचारवादका हिसाबले जनताको बहुदलीय जनवादको नयाँ मान्यता स्थापित गर्ने कुरामा उहाँको योगदान रह्‌यो । जनताको बहुदलीय जनवाद दुनियाँकै राजनीतिक सन्दर्भमा नयाँ अवधारणा हो ।

यस्तै संगठनभित्र जुन किसिमको अराजकता छ त्यसलाई अनुशासित पार्टीका रुपमा बदल्ने कुरामा जीवराज आश्रितको भूमिका महत्त्वपूर्ण थियो विगतमा । त्योबाट प्रेरणा लिँदा फेरि हामी एउटा सफल, सुदृढ र अनुशासित पार्टी निर्माण गर्न सक्छौं भन्ने मलाई लाग्छ ।

५२ सालमा हामीलाई सरकारबाट हटाइएपछि नेपालको राजनीति सबैभन्दा विकृति भयो । यो इतिहासमा अभिलेख भएको चिज हो । एमालेको सरकार सबैभन्दा लोकप्रिय थियो । पछिल्लो समय केपी ओलीलाई सरकारबाट हटाइसकेपछि पनि नेपाल आर्थिक संकटको चरम अवस्थातर्फ गयो । आज पनि मन्दीको अवस्थाबाट हामी गुज्रिरहेका छौं । जबकि केपी ओलीको समयले नेपालको विकासमा तीव्रता पाएको समय थियो । आर्थिक अवस्थामा गुणात्मक सुधार भएको समय थियो । नेपालको अर्थतन्त्रको आकार ह्‌वात्तै बढेको थियो । त्यो खालको चिजलाई हामी नहेरीकन एक प्रकारको नयाँ भाष्य खडा गर्न खोज्दै छौं । त्यो भनेको के भन्दा- सोलोडोलो रुपमा पुराना सबै खत्तम भए भन्ने जुन प्रकारको भाष्य खडा गर्न खोजेका छौं त्यो उचित होइन । वास्तवमा राजनीतिक दलहरु जो विचारधाराको जगमा भविष्यको योजनामा संगठित हुन्छन् उनीहरु कहिल्यै पनि पुराना हुँदैनन् ।

थप विचार भिडियोमा...

मदन-आश्रित प्रेरणाका स्रोत : ईश्वर पोखरेल (वरिष्ठ उपाध्यक्ष, नेकपा एमाले)

मदन भण्डारीले २०४९ माघमा एमालेको पाँचौं महाधिवेशनमा पेस गरेको जनताको बहुदलीय जनवाद, (जबज) लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । एमालेभित्रै बेलाबखत जबजको सान्दर्भिकताबारे बहस हुने गरेको छ । पार्टीभित्र फरक विचारलाई सम्मान गर्नुपर्छ भन्ने मदन भण्डारीको जबज व्यवहारमा लागु नसक्दा नेकपा एमाले २०५० सालयता दुईपटक विभाजित बनिसकेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बताउँछन् । नेपालको कम्युनिस्ट आन्दोलनमा मदन-आश्रितको योगदानलाई सम्झनै पर्ने उनको बुझाइ छ ।

उपाध्यक्ष पोखरेल भन्छन्- 

मदन भण्डारी र जीवराज आश्रितले पार्टी निर्माणमा जुन योगदान गर्नुभयो त्यसबेलाको विशिष्ट स्थितिमा उहाँहरुले एउटा उचाइबाट पार्टीलाई अगाडि बढाउने काममा उहाँहरुले भूमिका खेल्नुभयो । त्यो भनेको के हो भने- त्यसबेलाको विशिष्ट स्थितिमा निर्दलीय र निरंकुशताको विरुद्धमा सम्भव सबै शक्तिहरुसँग गोलबन्द हुनुपर्छ भन्ने मान्यतालाई पार्टीभित्र स्वीकृत गराउनुभयो । 

अर्को कुरा नेपालमा जुन विभिन्न वाम समूहहरु थिए, जो क्रियाशील थिए ती कम्युनिस्ट समूहहरुलाई एउटा मोर्चामा आबद्ध गर्नुपर्छ भन्ने कुरामा पनि उहाँहरुले भूमिका खेल्नुभयो । 

तेस्रो कुरा- हामीले जुन परम्परागत ढंगले आफ्नो कार्यक्रमिक जुन सोच थियो त्यो कार्यक्रमिक सोचलाई नयाँ ढंगले अगाडि बढाउने कुरामा जनताको बहुदलीय जनवादलाई सुदृढीकृत गर्ने कुरामा त्यसका अन्तर्वस्तुहरुलाई अगाडि बढाउने कुरामा उहाँहरुले भूमिका खेल्नुभयो । यी तीनवटा चिज उहाँहरुले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याउँदा सम्झनैपर्छ ।

उहाँहरु हाम्रा आदर्शका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु हाम्रा प्रेरणाका स्रोत हुनुहुन्छ । सम्झना गर्छौं हामी । चुनौतीका क्षणहरुमा उहाँहरुलाई सम्झना गर्छौं । उहाँहरुबाट सिक्न चाहन्छौं । उहाँहरुबाट सिक्नुपर्छ भन्ने मान्यता राख्छौं । भोलि-भोलि पनि ठूला-ठूला उपलब्धि प्राप्त गरिसकेपछि पनि हाम्रो यो स्प्रिट कायम रहन्छ ।

जनताको बहुदलीय जनवाद सूत्रीकरण भइरहँदा यसका तीनवटा आधार छन् । जबज अचानक आएको/ल्याएको जस्तो पनि बुझ्नु हुँदैन । मदन भण्डारीले नै भन्नुभएको छ- जनताको बहुदलीय जनवाद जो सूत्रीकृत भएर हामीले अगाडि लग्यौं नेपालका कम्युनिस्ट आन्दोलनका अग्रजहरुले लिएका सकारात्मक विचारहरुको उन्नत निष्कर्ष हो जबज । 

दोस्रो कुरो, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्राप्त भएका नकारात्मक अनुभवबाट लिएको शिक्षाको निष्कर्ष हो जबज । तेस्रो कुरा दर्शन र सिद्धान्तले निर्देशित गरेको विचार हो जबज । त्यो दर्शन र सिद्धान्त भनेको के हो भने- द्वन्द्व सर्वत्र छ । जब द्वन्द्व सर्वत्र छ भने द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ । त्यो द्वन्द्व भनेको प्रकृतिमा छ, मानव समाजमा छ । राजनीतिक प्रणालीमा छ, राजनीतिक दलहरुमा छ । त्यो सर्वव्यापी रुपमा भएको द्वन्द्वलाई प्रकट हुन दिनुपर्छ । यदि विधिसंगत ढंगले प्रकट हुन दिनुहुन्न भने, त्यो विस्फोटक हुन्छ र त्यसले ठूलो क्षति पुर्‍याउँछ । 

यसकारणले हामी के मान्यतामा होऔं भने द्वन्द्वलाई विधिसम्मत ढंगले प्रकट हुन दिनुपर्छ भन्ने यो दार्शनिक र सैद्धान्तिक विचारबाट निर्देशित भएर हामीले यो कुरा अगाडि सारेको हो । हाम्रो कार्यक्रममा, हाम्रो कार्यनीति शृंखलाहरुमा हाम्रो मार्गदर्शन गर्ने सिद्धान्तमा हामी यो चिजलाई अनुसरण गर्छौं ।

पोखरेलको थप विचार भिडियोमा...

मदन-आश्रितबाट प्रभावित कार्यकर्ता अहिले पनि प्रशस्त छन् : शेरबहादुर कुँवर 

भिन्न मतलाई सम्मान गर्नुपर्ने, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने र पार्टीमा लोकतान्त्रीकरण हुनुपर्ने मदन भण्डारीको मान्यता थियो । तर, आफूलाई जबजको असली हकदार बताउने नेकपा एमालेको शीर्ष नेतृत्वले मदन भण्डारीको सिद्धान्तलाई व्यवहारमा उतारेका छन् त ? आज जेठ ३ गतेको सन्दर्भमा सो पार्टीका नेता-कार्यकर्ताले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने देखिन्छ । मदन-आश्रित कम्युनिस्ट आन्दोलनका नयाँ विचारकसमेत रहेको नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरको बुझाइ छ ।

 कुँवर भन्छन्- हामी त्यसबेला भरखर कम्युनिस्ट पार्टीको राजनीतिमा सांगठनिक जीवनको सुरुवात गर्दै थियौं । कमरेड मदनको जुन शैली, उहाँको बौद्धिकता अहिलेको ७० वर्षका व्यक्तिको भन्दा पनि बढी थियो । एकदमै ओजपूर्ण थियो । जीवनशैली पनि त्यस्तै थियो । जीवराज आश्रित जहिले पनि उहाँ (मदन) को सहयात्री हुनुभयो । 

कुँवरको थप विचार भिडियोमा...


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।