देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छ : खनाल

वैशाख १०, २०८० |कान्तिपुर टीभी संवाददाता
देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले आइतबार आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा सम्मानित नेता खनालले देशको संस्कृतिमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको धारणा राखे । उनले देशमा सांस्कृतिक संकट गहिरिँदै गएको जनाए । उनले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला-ठूला भवनहरु बनेको भन्दै आश्चर्य प्रकट गरे । ‘यति ठुल्ठूला भवनहरु बनेका छन् एउटा निश्चित धर्मका नाममा । अचम्म छ यो तीन/चार वर्षभित्रमा कत्रो लगानी भएछ देशभर विचित्रको कुरा छ । सांस्कृतिक संकट पनि बढ्दो छ । राष्ट्रियतामाथि व्यापक अतिक्रमण भइरहेको छ ।’

देशको राष्ट्रियता पनि संकटमा परिरहेको उनको भनाइ छ । सम्मानित नेता खनालले विदेशी सैनिकहरु नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाए । उनले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनेर प्रश्नसमेत गरे ।

‘देशमा आर्थिक संकट छ । सांस्कृतिक संकट झन् गहिरिँदै छ । हाम्रा राष्ट्रिय संस्कृति जो भन्छौं नि यो राष्ट्रिय संस्कृतिका विरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रबाट सांस्कृतिक अतिक्रमण भयावह ढंगले अहिले प्रवेश गरिरहेको छ । म भयावह किन भन्छु भने पछिल्लो पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ,’ उनले भने ।

उनले देशको समस्या समाधान गर्न विचार मिल्ने वामपन्थी शक्तिहरु एकताबद्ध हुनुपर्ने धारणा पनि राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement