एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सकिन्छ : विष्णु पौडेल

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सकिन्छ : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले शुक्रबार कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् । उनले आफ्नो एमालेले अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए ।

उनले भने, ‘अहिले म तिथि मितितिर जान्न । मैले यति भने की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो ।’

कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीका अर्का नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप पनि लगाए । उनले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह गर्ने नगरेको बताए ।

नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको उपाध्यक्ष पौडेलको आरोप थियो । पौडेलले भने, ‘उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लङ्घन गर्नुभएको छ ।’ नेता रावलले पार्टीलाई कमजोर पार्ने गतिविधि गरेको पौडेलले दोहोर्‍याए ।

आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको पनि उपाध्यक्ष पौडेलको भनाइ थियो । उनले वर्तमान संसद्ले ५ वर्षको समय पूरा गर्ने लक्षण नदेखेको पनि औँल्याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.