राजनीतिमा विचित्रको लीला देखाउने प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसके : मोहन वैद्य

चैत्र ५, २०७९ |कान्तिपुर टीभी संवाददाता
राजनीतिमा विचित्रको लीला देखाउने प्रधानमन्त्रीले जनताको विश्वास गुमाइसके : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् ।

राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए । उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’ जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । जनतामा केही हुन्छ कि भन्ने विश्वास पनि पूरै ध्वस्त भएको छ । भोट कसलाई दिने ल भन्नुस् त ? एउटा पार्टीलाई दिने हो । यो गर्छु, यो गर्छु भन्ने त चाहियो । वाचा-बन्धन गर्नुपर्‍यो । चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस-माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए,’ उनले भने, ‘अब सरकार बनाउने बेलामा त छैन । सरकार बनाउने बेलामा त जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने । यहाँभन्दा विचित्र के हुन्छ ? त्यो सरकार त टिकाउनुपर्ने हो नि फेरि । एमालेसँग बसेर । त्यो पनि टिकाउन नसकेर फेरि फर्केर कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लीला भइसक्यो भन्नुस् । यस्तो चालले अव चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’

महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिस्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको जनाए । उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेकोसमेत धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement