सरकारले ल्याएको अध्यादेश सर्वथा गलत, कांग्रेसले यसको विरोध गर्छ : महामन्त्री थापा (भिडियो)

मंसिर २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
सरकारले ल्याएको अध्यादेश सर्वथा गलत, कांग्रेसले यसको विरोध गर्छ : महामन्त्री थापा (भिडियो)

काठमाडौं । फौजदारी अपराधका दोषीलाई जेलमुक्त गर्न सरकारले ल्याएको अध्यादेश आफ्नो पार्टीले विरोध गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । सरकारले ल्याएको अध्यादेश सर्वथा गलत रहेको भन्दै महामन्त्री थापाले आफ्नो पार्टी त्यसको विरोधमा उत्रने पनि बताए ।

‘कांग्रेसले नयाँ निर्णय नगरेको अवस्थामा त, हाम्रो पार्टीको निर्णय र अडान त यही नै हो । त्यो अडान र निर्णयको आँखाले नेपाल सरकारले हिजो गरेको निर्णयलाई मैले हेरें भने- कांग्रेसको महामन्त्रीको आँखाबाट हेर्नुपर्दा मैले के देख्छु भने त्यो सर्वथा गलत छ,’ कान्तिपुर टीभीसँग कुरा गर्दै महामन्त्री थापाले भने, ‘त्यसकारणले गर्दा नेपाली कांग्रेस पार्टी सरकारले गरेको निर्णयको विरोध गर्दछ । यसको भर्त्सना गर्दछ र यसको विपक्षमा उभिन्छ । यो मेरो व्यक्तिगत कुरा होइन । पार्टीको निर्णयले नै मलाई त्यही कुरा भन्नका लागि प्रेरित गर्छ र बाध्य बनाउँछ ।’

उनले नयाँ संसद्‌का लागि निर्वाचन भएर केही दिनमै सरकार बन्ने अवस्थामा पनि अध्यादेश ल्याउनु गलत रहेको बताए । उनले वर्तमान सरकारले बरु नयाँ सरकारलाई सहजतापूर्वक जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा अध्यादेश ल्याउने कुरो पहिलो दृष्टिमै गलत रहेको पनि बताए । ‘नयाँ संसद्‌का लागि निर्वाचन भइसक्यो । केही दिनमा नयाँ सरकार बन्छ । अहिलेको सरकारले नयाँ सरकारलाई सहजतापूर्वक आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने हो । नेपाली कांग्रेसले सरकारले गरेको कार्यको विरोध गर्छ । भर्त्सना गर्छ। यो अवधिमा अध्यादेश ल्याउने कुरा पहिलो दृष्टिमै गलत छ,’ उनले भने । यद्यपि अहिले महामन्त्री थापाकै पार्टी सभापति अर्थात् कांग्रेस सभापति शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गरिरहेका छन् । देउवाले आफ्नै स्वार्थका लागि अध्यादेश ल्याएको भन्दै सर्वत्र विरोध भइरहेका छन् । सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगे पनि प्रमाणीकरण भएर आएको अवस्था भने छैन । जबसम्म राष्ट्रपतिबाट सरकारले पठाएको अध्यादेश प्रमाणीकरण भएर आउँदैन तबसम्म त्यो अध्यादेश कानुन बन्न सक्दैन ।

कांग्रेस महामन्त्री थापाले कुनै पनि हालतमा टीकापुर हत्याकाण्डमा संलग्न भई दोषी ठहर भएका रेशम चौधरीलाई छुटाउने मनसायले ल्याएको अध्यादेश कुनै पनि अवस्थामा ल्याउनै नहुने बताए । उनले अध्यादेश ल्याउनु राजनीतिक हिसाबले गलत भएको पनि बताए । ‘त्यो ल्याउन हुँदैन, ल्याउन पाइँदैन, राजनीतिक नैतिक हिसाबले गलत छ । हामीले हिजो अरु सरकारलाई त्यही कुरा भन्यौं । हाम्रो हकमा पनि यही कुरा लागु हुन्छ,’ उनले भने, ‘दोस्रो कुरा अहिले जुन विषय, मनसाय राखेर अध्यादेश ल्याइएको छ, यो विषय अहिलेको सरकारलाई यसमा यस्तो कुराहरु गर्नुपर्थ्यो भन्ने कुराहरु लागेको भए । जुनकुरा लाग्न पनि सक्छ । कतिपय सम्बोधन गर्नुपर्ने विषयहरु पनि छन् ।’

थापाले बरु संसद् चलेका बेला यस्ता प्रकृतिको कानुन बनाउनुपर्नेछ भनेर संसद्‌मै विधेयक बनाएर प्रस्तुत गरेका भए जनप्रतिनिधिहरुले त्यहाँ बहस गरेर निचोड निकाल्ने पनि उनले बताए ।

‘निर्वाचनभन्दा अगाडि लामो समय संसद् चलेको थिएन । त्योभन्दा अघि लामोसमय संसद् चलेको बेलामा राष्ट्रका लागि यो-यो कारणले गर्दा यस्तो प्रकृतिको कानुन बनाउनुपर्ने छ भनेर संसद्‌मा विधेयकै बनाएर प्रस्तुत गरेको भए जनताको प्रतिनिधिहरुले त्यहाँ बहस गर्थे, छलफल गर्थे, मतमतान्तर हुन्थ्यो होला । हामी कोही कुन पक्षमा उभिन्थ्यौं होला, कोही कुन पक्षमा उभिन्थ्यौं । यो विषयमा सम्बोधन हुन्थ्यो,’ महामन्त्री थापाले भने ।

उनले वर्तमान सरकारले अध्यादेश ल्याउनु भनेको व्यक्तिगत तुष्टीकरण र अधिकारको दुरुपयोग भएको दाबीसमेत गरे । उनले भने, ‘अहिले मनमा एउटा कुरा गर्न खोजेको एउटा कुराजस्तो भयो । त्योबेलामा किन गरिएन ? अहिले नयाँ सरकार बनाउने बेलामा केवल कसैको तुष्टीकरणका लागि गर्नु भनेको अधिकारको सम्पूर्ण रुपमा दुरुपयोग गर्नु हो । त्यसकारणले गर्दा पनि गलत छ ।’

गलत मनसायबाट अध्यादेश ल्याउनुहुँदैन भनेर पार्टीले नै निर्णय गरेकाले आफूले पनि त्यही निर्णय बोलेको उनले बताए । ‘अब म नेपाली कांग्रेसको पार्टीका तर्फबाट पनि म यसलाई हेर्छु । पार्टीभित्र केही दिनअघि मात्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो । यस्तो विषय यदि सरकारले गर्नुपर्ने थियो भने हामीले त्यही बैठकमा यो विषयका बारेमा छलफल गर्न सक्थ्यौं होला,’ उनले भने, ‘त्यहाँ पनि मत-मतान्तर हुन्थ्यो होला । हामीले कुनै छलफल, बहस केही पनि गरेनौं । मैले पार्टीको पुरानो निर्णयहरु पल्टयाएर हेरें । हामीले पुरानो निर्णयमा के भनेका रहेछौं भने यसरी अध्यादेश ल्याउने कुरा गलत छ । अध्यादेशको जुन मनसाय छ, यसैगरी मनसाय राखेर अध्यादेश ल्याउने कुरा पनि गलत छ भनेर बोलेका रहेछौं जुन हाम्रो निर्णय हो ।’

अन्त्यमा कान्तिपुर टीभीसँगको कुराकानीमा महामन्त्री थापाले अध्यादेश ल्याएको विषयमा नेपाली कांग्रेस विपक्षमा उभिएको बताए । उनले यो आफ्नो व्यक्तिगत कुरा नभई पार्टीकै निर्णय भएकाले विरोध गर्नुपरेको पनि बताए । ‘कांग्रेसले नयाँ निर्णय नगरेको अवस्थामा त, हाम्रो पार्टीको निर्णय र अडान त यही नै हो । त्यो अडान र निर्णयको आँखाले नेपाल सरकारले हिजो गरेको निर्णयलाई मैले हेरें भने, कांग्रेसको महामन्त्रीको आँखाबाट हेर्नुपर्दा मैले के देख्छु भने त्यो सर्वथा गलत छ,’ उनले भने, ‘त्यसकारणले गर्दा नेपाली कांग्रेस पार्टी सरकारले गरेको निर्णयको विरोध गर्दछ । यसको भर्त्सना गर्दछ र यसको विपक्षमा उभिन्छ । यो मेरो व्यक्तिगत कुरा होइन । पार्टीको निर्णयले नै मलाई त्यहीकुरा भन्नका लागि प्रेरित गर्छ र बाध्य बनाउँछ ।’

भिडियो :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.