काठमाडौं । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ नेकपा एमालेको एघारौं महाधिवेशन शनिबार सुरु भएकाे छ।
भक्तपुरको सल्लाघारीमा सुरु भएकाे समारोहमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकाे उद्घाटन गर्नुभएकाे छ । विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्ने व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ।
दशौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो। जेन-जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन भइरहेकाे छ। नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ।
एमालेले विधानअनुसार ११औँ महाधिवेशनबाट १५ पदाधिकारीसहितको २ सय ५१ सदस्यीय कमिटी रहेको नेतृत्व आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्नेछ । यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार साँझ बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय कमिटी थप गर्न ल्याएको प्रस्ताव अस्वीकृत भएको छ ।







