
सुर्खेत । नेपालमा नयाँ चरा रातोकण्ठे डुबुल्कीचरा फेला परेको छ ।
यो चरा सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा अभिलेख गरिएको हो । कृषि तथा वन विश्वविद्यालय हेटौंडामा स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले अभिलेख गर्नुभएको हो । शैक्षिक भ्रमणका क्रममा पश्चिम नेपाल पुगेका विद्यार्थीद्वयले तालमा नयाँ चरा देखपछि फोटो भिडियो खिच्नुभएको थियो ।
समुन्द्र सतहदेखि ६ सय ५६ मिटर उचाइमा रहेको तालमा यसअघि कहिल्यै नदेखेको नयाँ चरा देखेपछि उत्साहित हुँदै फोटो र भिडियो लिएको विद्यार्थी गुरागाईंले बताउनुभयाे । यस चराका बारेमा थप अध्ययन र अनुसन्धान गर्न भिडियो र फोटो पन्छी संरक्षण संघ -बीसीएनमा पठाइएको थियो ।
चराका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ र विशेषज्ञसँग सल्लाह, सुझाव र परामर्श लिएर नेपालका लागि नयाँ भएको पुष्टि गरेको बीसीएनका अध्यक्ष विमल थापाले बताउनुभयो । उक्त चराको तस्बिर विद्यार्थीद्वयले गत असोज २९ गते बिहान ११ बजेतिर देखेर खिच्नु भएको थियो । चरा पहिचान गर्न समय लागेकाले ढिलो घोषणा गरिएको हो ।
अब नेपालमा अभिलेख भएको चराको संख्या ९ सय ३ पुगेको छ ।