सिरहा । सिरहा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, लहानको टोलीले बिहीबार लहान नगरपालिका-११ पडरिया टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय २८ वर्षीय मिथलेश कुमार चौधरी र अन्दाजी वर्ष २४ का राजनन्दन चौधरी छन् । उनीहरू दुबैलाई अपरान्ह मिथिलेशको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
मिथिलेशको घरबाट लागूऔषधको कारोबार हुँदै आएको सूचनाका आधारमा प्रहरीको टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा १ सय २४.६२ ग्राम ब्राउन सुगर, २ लाख ८६ हजार ७ सय १० नेपाली र १२ सय ५० भारतीय रूपैयाँ नगद बरामद भएको हो ।
प्रहरीकाअनुसार, त्यस घरबाट एक थान डिजिटल तराजु, एक थान कैँची, २ थान मोबाइल, सुनको तिलहरी एक थान, नेकलेश एक थानसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताउनुभयाे ।