काठमाडौं । चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँ पर्व आज घरघरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । चैते अष्टमीका अवसरमा आज देशका विभिन्न शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।
चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमीका रूपमा मनाउने गरिएको हो । बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि विशेष पूजा गरिन्छ ।