सिंहदरबारभित्र दुई वर्षअघि तामझामका साथ उद्घाटन गरिएका खानेपानीका धारा अलपत्र

चैत्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिंहदरबारभित्र दुई वर्षअघि तामझामका साथ उद्घाटन गरिएका खानेपानीका धारा अलपत्र

काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा निशुल्क र स्वच्छ खानेपानीको व्यवस्था गर्न भन्दै २०७९ चैतमा धारा जडान गरिएको हो । २०८० माघ १ गते ठुलो तामझामका साथ उद्दघाटन गरेको प्रधानमन्त्री कार्यालय अगाडिको धारको हालत पनि उस्तै छ । 

 तत्कालीन प्रधानमन्त्री र मन्त्रीसमेतले तामझामका साथ ताली ठोकेर २४ सै घण्टा सञ्चालनमा आउने भन्दै उद्घाटन गरेको दुई वर्ष हुँदा पनि धारामा नियमित पानी भने आउँदैन ।

त्यहाँका ४ वटा सार्वजानिक धारामा पानी सुकेको मात्रै होइन, सफाइ नगर्दा झारपात र प्लाष्टिक थुप्रिएको छ। अचम्म त के छ भने तत्कालीन खानेपानी मन्त्रीले नै सिंहदरबारमा सार्वजनिक धारा जडान गर्दा आफूले धम्की खेपेको र जार तथा बोतलमा पानी किनबेच गर्नेहरुको सिण्डिकेटले सार्वजनिक धारामा पानी नछाडिएको दाबी गर्नुहुन्छ ।

सिंहदरबारमा पुग्ने सेवाग्राही होउन् वा नेता कार्यकर्ता । स्वच्छ पानी पिउने सार्वजनिक थलो कतै छैन । कि आफैं पानी बोकेर जानुपर्छ कि त, सिंहदरबारका क्यान्टिन पसेर बोतलको पानी किन्नुपर्ने बाध्यता छ । 

कि चिया खाजा खानेगरी खाजाघर छिरेर प्यास मेट्नुपर्छ। राजनीतिक पहुँच हुनेहरु मन्त्री,सांसद वा कर्मचारीको कक्षमा गएर सरकारी पैसाले किनेको पानी पिउँछन् ।

सर्वसाधारणले प्यास मेट्ने पानी छैन । तर प्रधानमन्त्री,मन्त्री र सांसददेखि कर्मचारीका लागि सिंहदरबारमा दैनिक ५ लाखभन्दा बढीको पानीको कारोबार हुन्छ। 

तर सिंहदरबारबाट जार र बोतलको पानी हटाउने नारासहित जडान गरिएका सार्वजनिक धाराहरु भने पानी नआइकनै बिग्रिसकेका छन् । तर न साइरन बजाउँदै सुइँकिने प्रधानमन्त्री र मन्त्रीहरुलाई चासो छ नत कर्मचारीले नै बेथिति रोक्न ध्यान दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.