पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७२ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका सस्थापक सदस्य समेत रहनु भएका मिश्रले १९९२ देखि १९९६ सम्म प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको पाटाको अध्यक्ष रहनु भएको थियो ।

नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उहाँको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । मिश्र टेम्पल टाइगर ग्रुप अप कम्पनीका अध्यक्ष हुनुहुन्थ्यो । चितवन राष्ट्रिय निकुञ्ज भित्र टेम्पल टाइगर जङ्गल लज संचालनको अवधारणा मिश्रले नै ल्याएको नेपाल पर्यटन बोर्डको पूर्व कार्यकारी निर्देशक तथा पर्यटन व्यवसायी धन्नजय रेग्मीले बताउनु भयो ।

नेपाल पर्यटन बोर्डको अवधारणा मिश्र बाटै आएको पर्यटन क्षेत्रका व्यवसायीहरुको भनाइ छ । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.