रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले म्याद थपका लागि उहाँलाई अदालतमा उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताउनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो। उहाँलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्याइएको थियो।

सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने प्रहरीको तयारी छ । हिजो सार्वजनिक बिदा परेकाले आज अदालत पेश गराइएको हो । म्याद थपपछि प्रहरीले उहाँविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ ।

सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक लामिछानेलाई पक्राउ गरिएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.