बालपोषण भत्ता बढाउन सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको माग

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
बालपोषण भत्ता बढाउन सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको माग

काठमाडौं । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले पाँच वर्ष मुनिका बालबालिकालाई दिइरहेको बालपोषण भत्ता सुनिश्चित गर्दै हाल उपलब्ध रकममा वृद्धि गर्न माग गर्नुभएको छ । उहाँले बालपोषण भत्ता वृद्धि गर्ने विषय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख नभएको भन्दै यसलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताउँनुभयो ।

'नेपाल सरकारले हाल प्रदान गर्दै बाल पोषण भत्ता वृद्धि गर्ने विषय निति तथा कार्यक्रममा उल्लेख नभएको सन्दर्भमा यस सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको गम्भीर ध्यानाकर्षण भएको छ,' उहाँले लेख्नुभएको छ, 'बालपोषण भत्ताले बालबालिकाको पोषण सुधारमा सकारात्मक प्रभाव पारिरहेको देखिन्छ । यसले बालबालिकामा राज्यले उल्लेख्य लगानी गर्नुपर्छ भन्ने कुराको पुष्टि गर्दछ ।'

७७ वटै जिल्लाका पाँच वर्ष मुनिका सबै बालबालिकालाई बालपोषण भत्ता सुनिश्चित गर्दै हाल उपलव्ध रकममा वृद्धि गर्ने विषय निति, कार्यक्रम र बजेटमा समावेश गर्न आवश्यक पहलकदमीका लागि सम्बन्धीत सबै सरोकारवालाहरुमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल अपिल गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.