
काठमाडौं । हिमालको हिउँसहितको चट्टानी धरातल भासिँदा भोटेकोशीमा बाढी आएको प्रारम्भिक आकलन विज्ञहरुले गरिरहेका छन् ।
आज हामी तपाईंलाई हिमपहिरो, हिमताल विस्फोट र आइस रक एभलान्च अर्थात् हिम-चट्टानी पहिरो कसरी निम्तन्छ र त्यसले कस्ता खालका विनाश निम्त्याउँछन् भन्ने कुरा बुझाउँदैछौं, जसको जोखिममा हामी सबै छौं ।
हिमाली क्षेत्रमा बाढी आउनेबित्तिकै हिमताल फुटेछ या हिमपहिरो गएछ भनेर हामी धेरैजसो अनुमान गर्छौं । तर, हिमालमा धेरै थरिका हलचल निम्तिइरहेका हुन्छन् जसका कारण हिमाली क्षेत्रमा विपद्को स्थिति सिर्जना हुन्छ ।
हिमताल फुट्नु भनेको हिमालको काखमा जमेर बसेको पानीको पोखरी वा तालको बाँध फुटेर पानीमात्रै ह्वात्तै तल बग्नु हो, जस्तै सोलुखुम्बुको थामेमा गत वर्ष भएका घटना वा तिब्बतका ताल फुटेर हाम्रा भोटेकोशी र अरुण नदीहरूमा बारम्बार आउने बाढी ।
तर, आइस फल एभलान्च भनेको केवल पानी वा हिउँको बहावमात्र नभइ, हिमालको पूरै भाग वा शिखर चर्किएर, हजारौँ टनका विशाल चट्टान र बरफका ढिक्काहरू एकैचोटी बज्रिँदै तल खस्ने अकल्पनीय र विनाशकारी विपत्ति हो।
विज्ञहरु यही आइस फल एभलान्च प्रक्रियाद्वारा करिब ७ सय वर्षअघि पोखराको भूभाग बनेको बताउँछन् । अन्नपूर्ण- चौथो हिमालबाट बरफ, ढुङ्गा र माटोको प्रलयकारी बाढी खस्दा आजको पोखरा उपत्यकाको जन्म भयो । यो प्रक्रियामा त्यतिखेर कति मानिस प्रभावित भए, खुल्दैन । तर, अहिले तटीय क्षेत्रमा खोला छेउमा घना बस्ती भएकाले यस्तो बाढीको असर ठूलो हुने गरेको छ ।
यत्रो विशाल हिमालको पत्थर कसरी अचानक चर्किएर खस्छ त ?
यसको मुख्य कारण हो, पृथ्वीमा बढ्दै गएको तापक्रम । उच्च हिमाली क्षेत्रमा हजारौँ वर्षदेखि विशाल चट्टानहरूलाई बरफ र जमेको माटोको मिश्रण अर्थात् पर्माफ्रोस्टले बलियोसँग टाँसेर राखेको हुन्छ। तर, पृथ्वी तात्दै जाँदा त्यो जमेको बरफ पग्लिन थाल्छ। र, जब चट्टानलाई समातेर राख्ने बरफ पग्लिन्छ, हिमालको त्यो विशाल ढुङ्गा खुकुलो हुन्छ र हजारौँ मिटर माथिबाट ह्वात्तै तल खस्छ।
जब हजारौँ मिटर माथिबाट बरफ र चट्टानहरू एकैसाथ खस्छन्, तिनमा यति धेरै गति र ऊर्जा पैदा हुन्छन् कि त्यो कुनै विशाल बम पड्किएजस्तै गरी तलको हिमनदीमा बज्रिन्छ। यसको कडा धक्काले एकातिर हिमनदीको बरफलाई क्षणभरमै पगालेर लेदोसहितको भीषण बाढी ल्याउँछ भने अर्कोतिर सिङ्गै हिमाल थर्किँदा आसपासका क्षेत्रमा भुइँचालो समेत गराइदिन्छ ।
प्रकृतिको यो विध्वंसकारी रुप हाम्रा हिमालहरूमा बारम्बार दोहोरिइरहेका छन्। सन् २०१२ मा अन्नपूर्ण चौथोबाटै यस्तै पत्थर र बरफको पहिरो खसेर सेती नदीमा भयानक बाढी आउँदा ८० जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१८ मा मकालु हिमालनेरको अर्को हिमालको पूरै टुप्पै खसेर बरुण खोलामा मिसिँदा ठूलो बाढी आइ अरुण नदीलाई नै केही दिन थुनिदिएको थियो।
अहिले रसुवा र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको मुख्य रहस्य पनि कुनै हिमताल फुटेर नभइ पहिलेदेखि चर्किइसकेको साढे एक किलोमिटर लामो हिमालको चट्टान र त्यसमाथिको बरफ ह्वात्तै खसेर आएको यस्तै एउटा आइस रक एभलान्च रहेको अनुमान छ । र, यस्ता आइस रक एभलान्च पछिल्ला समयमा निरन्तर भइरहेका छन्, जुन निकै चिन्ताजनक हो ।
यदि पृथ्वीमा तापक्रम वृद्धिको क्रम यसरी नै जारी रहे भविष्यमा बहुप्रकोप अर्थात् दुई-तीनवटा ठूला विपत्तिहरू एकैचोटी आइलाग्न सक्ने विज्ञको भनाइ छ । त्यसको सिधा र विनाशकारी मार हाम्रा नदी आसपासका मानिसहरूले खेप्नुपर्नेछ।
प्रकृतिको यो गम्भीर इसारालाई बुझेर अहिल्यैदेखि सचेत हुनुपर्ने जानकार बताउँछन् । उनीहरुका अनुसार बाटोघाटो बनाउँदा वा घर बस्ती बसाल्दा नदीको ठ्याक्कै किनारमा होइन, अलि माथिल्लो र सुरक्षित भौगोलिक ठाउँ रोज्नुपर्छ, नदि किनारमा पूर्वसूचना दिने प्रविधि जडान गर्नुपर्छ र हिमालको जोखिमलाई बुझेर सतर्क रहनु नै प्रकृतिको यो महाप्रलयबाट मानिसको ज्यान जोगाउने एकमात्र उपाय हो।