विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउनै सकस

चार महिनामा ४ सय ५३ वटा शव ल्याइदिन निवेदन दर्ता हुँदा १ सय ६० मात्र नेपाल ल्याइयो
भाद्र ८, २०८३ |विकास आचार्य
विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउनै सकस

काठमाडौं । बितेको चार महिनामा विदेशबाट १ सय ६० शव नेपाल आएको छ । 

तर, यो अवधिमा ज्यान गुमाउने यति मात्र छैनन् । कन्सुलर विभागमा मात्रै शव फर्काइदिन भन्दै ४ सय ५३ वटा निवेदन दर्ता भएका छन् । तर, शव फर्काउन निकै सकस छ । अस्पताल र शव गृहको खर्च तिरेर विभिन्न प्रक्रिया पुर्‍याउन आम नेपालीलाई हम्मे हम्मे पर्ने गरेको छ ।

राैतहट घर भएका ७३ वर्षीय तुलसीराम दनुवार तीन महिनादेखि ढुक्कले घर बस्न पाउनुभएको छैन । कहिले सिंहदरबार, त कहिले कन्सुलर विभाग, उहाँको दिन भौँतारिएरै बित्ने गरेको छ ।

यो संघर्ष बुझ्नुअघि सन्तोष राईको कथा सुन्नुहोस् । अघिल्लो वर्षको भदौमा कम्बोडिया पुगेका सन्तोष राई गत वैशाख ३१ गते हृदयघातका कारण बित्नुभयो । नेपाली सेनाका सिपाही सन्तोष पेन्सनयोग्य हुन केही महिना मात्रै बाँकी रहँदा राजीनामा दिएर विदेश हानिनुभएको थियो । तर, कम्बोडिया पुगेपछि मात्र थाहा भयो उहाँ ठगी गिरोहको जालमा पर्नुभएको रहेछ । 

त्यसपछि नेपाल फर्कन टिकट लिनु त भयो, तर उहाँको सास नेपाल फर्किएन । विडम्बना, तीन महिना भयो, लास पनि नेपाल आइपुगेको छैन । तुलसीराम दनुवार यिनै सन्तोषका ससुरा हुनुहुन्छ ।

यो तीन महिनामा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमा भर्खर रोपिएका फूल अहिले फक्रिइसकेका छन् । मुर्झाएको त ज्वाइँ फिर्ता ल्याउने आशा मात्र हो । मृत्युको खबर सुनेपछि कालो झोलामा केही पैसा र कागज हालेर काठमाडौँ आउनुभएका तुलसीरामसँग अब धेरै दिन बस्नसक्ने खर्च पनि छैन ।

सन्तोषको शव कम्बोडियाको एक अस्पतालको शव गृहमा छ । जसको खर्च दैनिक ५० अमेरिकी डलर पर्छ । यो भनेको शव ल्याउनुपर्ने भए पहिला करिब ७ हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । अस्पताल खर्चसमेत जोड्दा त करिब ८ हजार ५ सय डलर पर्न जान्छ । 

शव ल्याउन विलम्भ हुँदा त्यो खर्च बढ्दै गएको छ । सबै प्रक्रिया पुर्याउँदा सन्तोषको शव ल्याउन करिब १५ लाख खर्च चाहिन्छ । यति पैसा परिवारसँग छैन ।

विदेशी भूमिमा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन सकस छ । खासगरी श्रम स्वीकृति नलिएका, भ्रमणमा गएका र विदेशमै गैरकानुनी रुपमा बसेकाहरुको शव नेपाल ल्याउन समस्या छ । 

के गरिरहेको छ सरकारले यसका लागि ?

सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि १५ करोड बजेट विनियोजन गरेको छ । त्यसका लागि गत भदौ ४ गते कार्यविधिसमेत स्वीकृत भइसकेको छ । यही कार्यविधिमा टेकेर धादिङ धुनिवेशीका सन्तोष राईको शव नेपाल ल्याउने गृहकार्य भइरहेको कन्सुलर विभागको भनाइ छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि यही भदौ २ गते संसद्‍मा वैशाखयता विदेशबाट १ सय ६० शव नेपाल ल्याइसकिएको जानकारी दिनुभएको थियो । वैशाखयता मात्रै शव फर्काइदिन भन्दै कन्सुलर विभागमा ४ सय ५३ वटा निवेदन परेका छन् । 

जसमा भदौ १ देखि ४ गतेसम्म शव झिकाउन सहजीकरणका लागि २५ वटा निवेदन परेका छन् । कन्सुलर विभागबाहेक वैदेशिक रोजगार विभागमा पनि शव झिकाइदिन भन्दै निवेदन पर्ने गरेका छन् ।

कान्तिपुर समाचारका लागि क्यामेरामा रुपक कोइराला र हेम प्रसाईंका साथमा विकास आचार्य काठमाडौँ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।