काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले धैर्य र संयम अपनाएर शान्ति तथा सद्भाव कायम गर्न अपिल गर्नुभएको छ ।
आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आगामी दिनमा राज्य थप सतर्क र सम्वेदनशील रहने प्रतिबद्धता पनि जनाउनुभएको छ । सुनसरी, धनुषा, सिरहालगायतका जिल्लामा तनाव फैलँदा पनि सरकारका तर्फबाट केही सम्बोधन नभएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले आज पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।
प्रधानमन्त्रीले सुनसरीको देवानगन्ज, सिरहालगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।
उहाँले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न छानबिन समिति बनाइसकिएको र दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउने प्रतिबद्धतासमेत जनाउनुभयो । अवस्था थप नबिग्रियोस् भनेर सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले शान्ति सुरक्षा थप सुदृढ पार्न गृहमन्त्री घटनास्थल पुगिसकेको पनि बताउनुभयो ।