आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम गर्न अपिल

श्रावण १४, २०८३ |कान्तिपुर टीभी संवाददाता
 आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम गर्न अपिल

काठमाडौं । राष्ट्रपति, पूर्वराष्ट्रपति, राजनीतिक दल र नागरिक समाजले सुनसरीको देवानगन्जलगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्‍भाव र राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन् ।

राष्ट्रपति पौडेलसहितले आज एक अपिल जारी गर्दै सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम गर्न अपिल गर्नुभएको हो । उहाँले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन र शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । सुनसरी, सिरहालगायत जिल्लाहरुमा भइरहेको हिंसात्मक घटनाप्रति दु:ख व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सद्भावको पक्षमा उभिन अपिल गर्नुभएको हो । संकटको यो अवस्थामा दलहरुले लिएको अग्रसरतालाई उहाँले स्वागत गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि देशका विभिन्न स्थानमा भइरहेका घटनालाई जटिल हुन नदिन नागरिक, राजनीतिक दल र सरोकारवालाहरुलाई सामाजिक सद्भाव र एकता कायम गर्न आग्रह गर्नुभएको छ । उहाँले हिंसा रोकेर संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गर्नुभएको छ ।

उज्यालो नेपाल पार्टीले पनि मधेशका जिल्लाहरुमा सर्वपक्षीय संवाद गरी सामाजिक सद्‍भाव कायम गर्न आग्रह गरेको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी सद्‍भाव कायम राख्न सबैलाई अपिल गर्नुभएको छ । शाहले विज्ञप्ति जारी गरी सुनसरी घटनापछि आपसी द्वन्द्व बढेकोमा आफूलाई दु:ख लागेको भन्दै समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा परिचित नेपालमा यस प्रकारका घटना, दुर्घटना हुनु चिन्ताको विषय भएको उल्लेख गर्नभएको छ ।

नागरिक अगुवा निलाम्बर आचार्यले राजनीतिक दल, धार्मिक संगठन र जनप्रतिनिधिलगायत सबै मिलेर सामाजिक सद्भाव र सहिष्णुता कायम गर्नुपर्ने बताउनुभएको छ । उहाँले कर्फ्यू नै समस्याको समाधान नभएको भन्दै राजनीतिक संवादमार्फत समाधान खोज्न प्रधानमन्त्री र सरकारको ध्यानकर्षण गराउनुभएको छ । यस्तै जेनजी अगुवाहरु रक्षा बम, माजिद अन्सारी र रामजी रामलगायतले पनि सामाजिक सद्‍भाव कायम गर्न अपिल गरेका छन् ।

यसैबीच, नेपाल बार एसोसिएसनले सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ । बार उपाध्यक्ष पदमप्रसाद लिम्बूको संयोजकत्वमा गठित नागरिकस्तरीय अध्ययन समितिले घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेस गर्ने बारले जनाएको छ ।

यस्तै उद्योग वाणिज्य महासंघले जुनसुकै मतभेद वा असमझदारीको समाधान केवल वार्ता, संवाद र आपसी समझदारीबाट मात्र हुने जनाएको छ । महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति झडप हिंसा र मुडभडले कसैको हित नगर्ने भएकाले सामाजिक सद्भाव कायम गर्न अपिल गरेको हो ।

यसैगरी, मधेशकेन्द्रित चार दल जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय निर्माण पार्टीले देवानगन्ज घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । यसैगरी, मधेश सरकारले पनि शान्ति र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.