काठमाडौं। सुनसरीको देवानगन्जमा तनाव सुरु भएको पाँचौं दिनमा गृहमन्त्री सुधन गुरुङ घाइतेको अवस्था बुझ्न आज सुनसरी पुग्नुभएको छ।
यसबीचमा सुनसरीको देवानगन्जसहित अन्य क्षेत्रमात्र होइन, सिरहा र धनुषासम्म तनाव सुरु भएको छ। देवानगन्जमा दुई समूहबीचको झडपका क्रममा एकजनाको आइतबार नै मृत्यु भएको थियो भने घाइतेमध्ये एकजनाको उपचारका क्रममा आज निधन भयो। यता सिरहामा आज अर्का एक युवकको मृत्यु भयो। परिस्थिति नियन्त्रणमा लिनका लागि सरकार, सुरक्षा निकाय र प्रशासनको कमजोरीबारे व्यापक प्रश्न उठेको छ। घटनाका बारेमा छानविनका लागि सरकारले समिति गठन गरेको त छ, तर घटनाका बारेमा स्पष्ट जानकारी न संसदलाई गराइएको छ न त यसबारे सरकारले सार्वजनिक रुपमै केही बोलेको छ।
सुनसरीबाट सुरु भएको तनाव अरु जिल्लाहरुसम्म फैलिसक्दा प्रधानमन्त्रीको फेसबुक स्टेटसबाहेक सरकारका तर्फबाट अरु केहि सम्बोधन नभएको भन्दै सरकारमाथि दबाब बढेको छ। यो समाचार प्रसारण भइरहँदासम्म प्रधानमन्त्रीको सम्बोधन आउने कुरा त छ तर यसबिचमा सरकारले संवेदनशिलता र गम्भीरता नअपाएको भन्दै व्यापक आलोचना भएको छ। राजनीतिक तथा सामाजिक संवाद र सहमतिबाट समाधान खोज्न सरकारमाथि दबाब बढेको हो। प्रशासनिक प्रकृयाबाटभन्दा राजनीतिक संवाद र सहमतिबाट समाधान निकाल्न सरकारलाई दलहरु, सुरक्षा मामिला तथा नागरिक समाजसहित जनस्तरबाट दबाब बढेको हो।
साउन १० गते राति सुनसरीको देवानगञ्जबाट सुरु भएको दुई पक्षीय झडपले हिंसात्मक रुप लिँदै गए पनि समाधानमा सरकार संवेदनशील नभएको भन्दै आलोचना हुँदै आएको हो । घटनापछिका ५ दिन अर्थात आज १४ गते अपरान्हसम्म प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले गम्भीरता नदेखाएको भन्दै संसदमा पनि चर्को आलोचना भयो। विपक्षीले मात्र होइन, सत्तापक्षकै सांसदहरुले पनि प्रश्न उठाए, प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरेका थिए ।
हिजो रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा पनि दलका नेताहरुले राजनीतिक संवाद र सामाजिक सद्भावमार्फत नै समस्याको समाधान खोज्न सुझाव दिँदै जनताको हितका सवालमा सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्दता गरेका थिए । तर पाँच दिनसम्म सरकार मौन बसेको भन्दै उनीहरुले आलोचना पनि गरेका छन् । अशान्ति फैलिन थालेको भन्दै मधेश केन्द्रित दलहरुले पनि छलफल र परामर्श बढाएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दलका तर्फबाट निर्वाचित मधेश प्रदेशका सांसदहरुसँग पनि विभिन्न जिल्लामा देखापरेका हिंसात्मक घटनाका बारेमा छलफल गर्नुभएको थियो । सरकारको भूमिकाकै विषयमा सांसदहरुले सभापति लामिछानेसँग असन्तुष्टि पोखे ।
परिस्थिति गम्भीर भएको छ। विवेक नअपनाउने हो भने समस्या झनै बल्झिन सक्छ। स्थिति सरकारको नियन्त्रणबाट बाहिर जानु हुँदैन । पाँचौं दिन आएर सरकारको सक्रियता बढेको त देखिन्छ तर फेरि पनि सरकारले यसबीचमा उठेका जवाफहरुको प्रश्न दिएर मात्र पुग्ने छैन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन रणनीति, प्रभावकारी संवाद, सुरक्षा र प्रशासनिक संवेदनशिलता अनि विनयशिलता अपनाउनुबाहेक अर्को उपाय छैन।