कञ्चनपुर । साउन २ गते पश्चिम तराईका थारू समुदायले कमैयामुक्ति दिवसका रूपमा मनाउँछन्।
कमैयामुक्ति घोषणाको २६ वर्ष बित्दा धेरैका लागि स्वतन्त्रताको अर्थ जमिनदारको घरबाट निस्केर कच्ची टहरामै संघर्षपूर्ण जीवन जिउनु रहेको छ। बाढी, डुबान, जंगली जनावरको त्राससँग संघर्ष गरिरहेका मुक्त परिवारमध्ये केहीले अहिले सुरक्षित पक्की घर पाएका छन् ।
घर पाएसँगै उनीहरूले सम्मानपूर्ण जीवनको अनुभूति पनि गरेका छन्। झन्डै नौ दशक लामो जीवन । जीवनको अधिकांश कालखन्ड अरूको खेतबारी र घरमा पसिना बगाउँदै बित्यो । न आफ्नो भन्न मिल्ने घर थियो, न त भविष्यप्रतिको कुनै आशा ।
कञ्चनपुरको बेलौरी नगरपालिका-५, शोभाताल मुक्तकमैया शिविरकी ९० वर्षीया उदासी चौधरीले जीवनमा अनेक घामपानी झेल्नुभयो। जमिनदारको घरमा कमैया बसेर बितेको जीवन, सरकारले २०५७ सालमा कमैयामुक्तिको घोषणा गरेपछि नयाँ मोडमा त आयो ।
बस्नका लागि थोरै जग्गा पाइयो, तर आर्थिक अभावका कारण पक्की घर बनाउने सपना अधुरै रह्याे । पछिल्ला २५ वर्ष उदासी चौधरीले कच्ची टहरामै बिताउनुभयो । वर्षामा बाढी-डुबानको चिन्ता, राति जंगली जनावरको त्रास, अनि हावाहुरी चल्दा छानो उड्ने डर ।
तर, अब भने उदासीले जीवनमै पहिलोपटक सुरक्षित घरमा आश्रय पाउनुभएको छ । सरकारी र गैरसरकारी साझेदारीमा बनेको नयाँ घरको साँचो हातमा पर्दा उदासीको अनुहारमा छल्किएको मुस्कानले वर्षाैँदेखिको संघर्ष बोलेको छ।
बेलौरी-९, रामघाट मुक्तकमैया शिविरकी ऋता चौधरीका सासु-ससुराले पनि पूरै जीवन साहुमहाजनकै घरमा काम गरेर बिताउनुभयो । कमैयामुक्त भए पनि गरिबीबाट भने मुक्ति मिलेन । अहिले कथा फेरिएको छ । नयाँ घर बनेपछि परिवारमा पहिलोपटक भविष्यप्रति आशा जागेको छ ।
ऋता भन्नुहुन्छ, अब आफ्ना बालबालिकालाई डर होइन, आशाको घरमा हुर्काउन पाइने भयो । बेलौरीका थुप्रै मुक्तकमैया परिवारको जीवन अहिले यी दुई परिवारको जस्तै परिवर्तनको साक्षी बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा बेलौरी नगरपालिका ५ मा १८ र वडा नम्बर ९ मा १७ गरी ३५ वटा सुरक्षित आवास निर्माण गरेर मुक्तकमैया परिवारलाई हस्तान्तरण गरिएको छ ।
घर बनाउन झन्डै ७२ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये सुदूरपश्चिम प्रदेश सरकारको ३१ लाख ५० हजार, बेलौरी नगरपालिकाबाट १३ लाख ५० हजार, हेविट्याट फर ह्युमिनिटी नेपालबाट १० लाख ८० हजार र लाभग्राहीको श्रमदानको १५ लाख ९१ हजार रुपैयाँ बराबरको योगदान छ ।
बेलौरी नगरपालिकाका अनुसार सबैभन्दा विपन्न मुक्तकमैया परिवार छनोट गरी सुरक्षित र सम्मानजनक आवास निर्माण गरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा बेलौरी नगरपालिका ९ र १० मा १५ घर निर्माण गरिएको थियो । २०८१/८२ मा वडा नम्बर ५, ६, ७ र ८ मा २९ घर निर्माण गरी मुक्तकमैया तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको थियो ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा वडा नम्बर १ देखि ४ सम्मका विपन्न परिवार पहिचान गरी सुरक्षित आवास निर्माण गर्ने योजना बनाएको छ । एक समय जमिनदारको घरमा श्रम बेचेर गुजारा गरेका मुक्तकमैयाका लागि निर्माण गरिएका यी पक्कीघर उनीहरूको संघर्षको सम्मान हो ।