सुकुम्वासीलाई मासिक १५ हजार घरभाडा उपलब्ध गराउने सरकारको तयारी

वैशाख ३१, २०८३ |राजनीतिक ब्युरो
सुकुम्वासीलाई मासिक १५ हजार घरभाडा उपलब्ध गराउने सरकारको तयारी

काठमाडौँ । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन् । 

समिति सभापति हरि ढकालका अनुसार सहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्वासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेस गर्दै उक्त योजनाबारे जानकारी दिएका हुन् । हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ भइरहेको र सो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण गरिने सरकारको लक्ष्य छ । 

सहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ । यसका साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दाबी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सुकुम्वासी बस्ती व्यवस्थापनका नाममा भएका घटनाहरूको जवाफदेहिताका लागि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गर्नुभएको छ ।

आज बसेको समितिको बैठकमा बोल्दै नेता शाहीले सुकुम्वासी बस्ती व्यवस्थापनका नाममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै यस विषयमा गृह प्रशासनको नेतृत्वले नै स्पष्टीकरण दिनुपर्ने जिकिर गर्नुभएको हो । उहाँले बस्ती हटाउने क्रममा सुत्केरी महिलालाई घरबाट घिसारिएको र बालबालिकालाई पुस्तकसमेत ल्याउन नदिई उठाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभयो । उहाँले समितिका सभापतिलाई ध्यानाकर्षण गराउँदै विषयवस्तुलाई गम्भीरतापूर्वक लिन र ‘टालटुल’ गर्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभयो ।

शाहीले देशको बहालवाला गृहमन्त्री वा मन्त्रालयको कार्यभार सम्हालेका जिम्मेवार व्यक्ति उपस्थित नभएसम्म छलफलको औचित्य नरहने स्पष्ट पार्नुभयो ।