
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभइ राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गर्नुभएको हो । उहाँले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धीलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
कोभिड महामारी, आपूर्ति श्रृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले प्रतिभा पलायन रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने बताउनु भयो ।
उहाँले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवाहरूलाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको औंल्याउनु भयो । राष्ट्रपति पौडेलले परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्नुभयो । उहाँले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिनुभयो ।