
दोलखा । दाेलखामा हावाहुरी र वर्षासहित उच्च भेगमा हिमपात भएको छ ।
सोमबार दिउँसोबाट मौसममा भएको बदलीसँगै कालिञ्चोक, बेदिङलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । चैत्रको अन्तिमलाग्नै लाग्दासमेत हिमपात भएसँगै त्यस क्षेत्रसहित चरिकोटमा चिसो बढेको छ । तल्लो क्षेत्रमा हिउँदे वर्षा भएको छ । आलु रोपेको किसान आलु गाँड्ने बेलामा असिनासहित वर्षाका कारण पल नलाग्ने चिन्तामा परेका छन् ।
मकै छर्न ठिक्क परेका किसान भने बारी भिजेका कारण मकैको टुसा पलाउने भन्दै खुसी देखिएका छन् । हिमपातपछि कालिञ्चोकका होटल व्यवासयी आन्तरिक पर्यटकको चहलपहल बढने भन्दै उत्साहित बनेका छन् । सिजन सुरू भएसँगै पर्यटकीय गाउँ बेदिङ र नामा बाक्लो हिमपातपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
लगातारको हिमपातपछि दोलखाको विगु गाउँपालिका-१ लप्चीका स्थानीय लुम्नाङबाट लप्ची याक चौंरी लिएर लप्ची पुगेपछि हिमपात भैरहेका कारण जनजीवन प्रभावित बनेको छ। चिसो छल्न लुम्नाङ झर्ने लप्चीबासी चैत्रबाट याक चौंरी लिएर लप्ची उक्लने गर्छन् ।
यो वर्ष ढिलो गरी लप्ची उक्ले पनि निरन्तर हिमपात भैरहेकाले चिसो बढेर घरबाहिर निस्कन कठिन भएको स्थानीयले बताएका छन् ।