अब हप्तामा दुई दिन बिदा

चैत्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
अब हप्तामा दुई दिन बिदा

काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । 

कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनु भयो । उहाँकाअनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ । 

सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उहाँले बताउनु भयो ।

सरकारले राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरू गर्ने निर्णय गरेकाे शिक्षा मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.