
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आइतबार बिहान नियन्त्रणमा लिएको हो । अग्रवाललाई कहाँबाट पक्राउ गरिएको भन्ने विषय खुलाइएको छैन । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबुसमेत रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको थियो ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको पर्सीपल्टै छोरा शुलभलाई पनि पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्फिनिटी होल्डिङ्सका प्रमुख दीपक भट्टलाई बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।
अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो ।
त्यसपछि विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिएको थियो । तर, सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो । नयाँ सरकार गठन भएपछि विभागले पुरानो फाइल ब्युँताएर पुनः अनुसन्धान सुरु गरेको थियो ।