पत्रकार महासंघ खोटाङले पठायो सरकारलाई एक रूपैयाँ

चैत्र २०, २०८२ |उत्तम चौलागाईं
पत्रकार महासंघ खोटाङले पठायो सरकारलाई एक रूपैयाँ

खोटाङ । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ शाखा खोटाङले सरकारलाई एक रूपैयाँ सहयोग पठाएको छ । 

प्रधानमन्त्री तथा मन्तिपरिषद्को कार्यालयले चैत १८ गते संघीय मन्त्रालय, आयोग र सचिवालयका साथै प्रदेश तथा स्थानीय तहहरूलाई सरकारी सूचना प्रकाशन तथा प्रसारण सरकारी सञ्चारमाध्यमा मात्रै गर्ने भनि गरेको निर्णय तथा परिपत्रको विरूद्ध महासंघले शुक्रबार सरकारलाई एक रूपैयाँ पठाएको हो ।

कोरोना महामारी तथा विभिन्न आन्दोलनका कारण आर्थिक संकट व्यहोरिरहेका निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोकिने गरी गरिएको सचिवस्तरीय निर्णयप्रति महासंघले गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलमार्फत प्रतीकात्मक रूपमा एक रूपैयाँ पठाउँदै ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष हरिवोल आचार्यले बताउनुभयो ।

सरकारको यस निर्णयले निजी सञ्चारमाध्यमहरू बन्द हुने तथा श्रमजीवी पत्रकारहरूको रोजगारी खोसिने अवस्था सिर्जना हुनेतर्फ महासंघ गम्भीर भएको तथा प्रेसमाथि अप्रत्यक्ष सेन्सरसिपको अवस्था सिर्जना गरी आवाजविहीनहरूको आवाज बन्दै आएको स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष असर पार्ने महासंघको ठहरसमेत रहेको ज्ञापनपत्रमा उल्लेख छ ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।