लेखकलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश आउन बाँकी

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लेखकलाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश आउन बाँकी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

लेखकलाई रिहा गर्न माग गर्दै दायर रिटमा साेमबार भएको सुनुवाइपछि अदालतले कारण देखाउ आदेश जारी गर्दै रिहा गर्न अस्वीकार गरेको हो। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ सकिए आदेश आउन बाँकी छ । 

ओलीको न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भएको थियो भने लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई तथा राधेश्याम अधिकारी, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायतले बहस गर्नुभएको छ ।

ओलीका हकमा श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराउनु भएको थियो भने लेखकको हकमा श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराउनु भएको थियो । शनिबार दुवै नेताहरूलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो । 

२३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उहाँहरूलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उहाँहरूलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पनि दिइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.