
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकले भोग्नुपरेका समस्या, सुशासन र सेवा प्रवाहको विषयमा कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ ।
प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा सबै दलका सांसदहरूसँग छलफल गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले कोशी प्रदेशका सांसदहरूले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको बताउनु भयो ।
उहाँकाअनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राख्नुभएको थियो । छलफलमा सांसदहरूले आ-आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उहाँको भनाइ छ । रास्वपाकै सांसद इन्दिरा रानामगरले प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचन क्षेत्रका तत्कालीन समस्याको बारेमा ब्रिफिङ लिनुभएको जानकारी गराउनु भयो ।
उहाँले आफूले झापा-२ मा रहेको पुल निर्माण, सिँचाइ तथा तटबन्धलगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनु भयो । जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सीमिततालाई मध्यनजर गर्दै समाधानउन्मुख हुने बताएको उहाँले बताउनु भयो ।