
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न वरिष्ठ नेता र विज्ञहरूसँग नियमित सरसल्लाह गर्न सुझाव दिनुभएको छ ।
सोमबार धुम्बाराहीमा नवनिर्वाचित सांसदहरूलाई बधाइ ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले संसद्मा आउने विभिन्न विषय र मुद्दाहरूमा गहिरो अध्ययन र छलफलको आवश्यकता रहेको बताउनुभएको हो । यस पटक वरिष्ठ र पुराना सांसदहरू धेरै नभएको उल्लेख गर्दै कोइरालाले उनीहरूको अनुभवबाट लाभ लिन नवनिर्वाचित सांसदहरूलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसले यस्ता कार्यक्रमहरू पहिलेदेखि नै गर्दै आएको स्मरण गर्दै उहाँले नवनिर्वाचित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना समेत दिनुभयो । कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।