ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकियाे

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकियाे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सकिएको छ ।

एमाले अध्यक्ष ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई तथा राधेश्याम अधिकारी, नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्रलगायतले बहस गर्नुभएको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ सकिएको हो ।

यस्तै पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण मुद्दामा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ सकिएको छ । ओलीका हकमा श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराउनु भएको थियो भने लेखकको हकमा श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराउनु भएको थियो । 

शनिबार दुवै नेताहरूलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ परेको थियो । २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा बल प्रयोग गरे अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न उहाँहरूलाई पक्राउ गरिएको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन अनुसन्धानका लागि थुनामा राख्ने अनुमति पनि दिएको छ। 

बन्दी प्रत्यक्षीकरणको निवेदनमा उहाँहरुलाई अदालतबाट पक्राउ अनुमतिसमेत नलिइएको र पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी कार्यालयमै नपुगेको अवस्थामा प्रतिशोधपूर्ण रुपमा पक्राउ गरिएको दाबी गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.